महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरूप पुनर्संरचना गर्ने तोयम रायाको प्रतिबद्धता   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरूप पुनर्संरचना गर्ने तोयम रायाको प्रतिबद्धता  


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरूप पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलवार संसदीय सुनवाइ समितिको बैठकमा उनले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरूप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

उनले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरू तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए ।

वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरूसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरूमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ ।

प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरूसँग परामर्श लिएर अघि बढ्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस