अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु


३ बैशाख २०८१, सोमबार


काबुल । तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । 

“शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ”, विभागका प्रवक्ता जनान सायेकले भने, “दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ ।”

सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् । करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमिटर सडक भत्किएको छ र करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ ।

मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्यरूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको छ र किसानहरूलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको छ । 

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि गरिब अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ । 

फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमापातपछि गएको पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो । 

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस