सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै


१ बैशाख २०८१, शनिबार


काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धूमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धूमधामका साथ बिस पर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा-मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।

यसका साथै देवर भाउजू, नन्द भाउजू र साली भिनाजुले एकापसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

बि सुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए । र पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ ।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।

यो दिन हरेक मानिसले शरीरमा रोग नलागोस् र विषाक्त पदार्थ हटेर जाओस् भन्नका निमित्त सिस्नो लगाउने गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्त्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्ति पीठहरूमा पनि विशेष पूजा तथा मेलासमेत लाग्ने गर्दछ । यस दिनमा इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्की आदि विभिन्न परिकार पकाएर बिसु मनाउने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस