मनिषा कोइराला : जसले २४ घण्टामै स्टारडम खोसिन् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मनिषा कोइराला : जसले २४ घण्टामै स्टारडम खोसिन्


३० चैत्र २०८०, शुक्रबार


मुम्बई । विनम्रता, सालिना, प्रेम र विद्रोहका साथ यौनकर्मीहरूको एउटा ठूलो भीड आउँदैछ । यो भीडमा एक छिन् ‘हीरामण्डी’की मल्लिका । उनै मल्लिका भन्छिन्, ‘यो मल्लिकाजानको पुच्छर हो । यतिले रगतले तिर्खा मेट्दैन ।’ उनी तिनै मल्लिका हुन्, जो विद्रोह मनोवृत्तिका साथ ‘हीरामण्डी’मा ‘अंग्रेजको होइन, मल्लिकाजानको सिक्का चल्छ’ भन्छिन् ।

‘हीरामण्डी’मा मल्लिकाजानको चरित्र मनिषा कोइरालाले निभाएकी छन् । यो वेब सिरिजको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलर हेर्ने अधिकांशको ध्यान मनीषाले नै आफूतिर तानेकी छन् । यसको निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली हुन् ।

यो वेब सिरिज केही दिनमै प्रसारणमा आउँदैछ । रिलिजपछि मात्र मनीषाको चरित्र कति दमदार छ भन्ने दर्शकले थाहा पाउनेछन् । तर ट्रेलर हेर्दा उनको भूमिका जति लामो वा छोटो भए पनि त्यो भूमिका दमदार हुनेमा फिल्म विश्लेषकहरू ढुक्क छन् ।

भन्सालीको विशेषता यो हो कि उनी कुनै पनि कलाकारबाट उत्कृष्ट काम निकाल्छन् । यसको जिउँदो उदाहरण रणवीर सिंह हुन् । उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन् । ‘रामलीला’का राम, ‘बाजीराव मस्तानी’का बाजीराव र ‘पद्मावत’ का अलाउद्दीन यी सबै भन्सालीका देन हुन् । अभिनेता सलमान खानको करियरका उत्कृष्ट फिल्म ‘खामोशी’ र ‘हम दिल दे चुके सनम’ दुवै भन्सालीका हुन् ।

मनीषा कोइरालालाई भन्सालीले आफ्नो फिल्ममा पुनः मौका दिएका छन् । त्यसको खास कारण यो हो कि भन्साली मनीषा भित्रबाट ‘खामोसी’ जस्तो अभिनय निकालेर दर्शकमाझ पुनः पेश गर्न चाहन्छन् । ‘हीरामण्डी’मा मनीषाले मल्लिकाजानको चरित्र निभाउन गरेको संघर्ष आफैंमा रोचक छ ।

‘मलाई एक ठूला निर्देशकले २४ घण्टाको समय दिएर ‘कि तिमीले आफ्नो अभिनय कौशल सुधार्नु अथवा पुनः फर्किएर जानु । किनकी तिमी काम नलाग्ने अभिनेत्री हौ र तिमीलाई अभिनय आउँदैन’ भनेका थिए’, मनीषा सम्झिन्छिन् ।

मनीषाका अनुसार निर्देशकले उनलाई यो कुरा भनिरहँदा मनीषाले बलिउडमा पाइला चालेको केवल ३ वर्षमात्र भएको थियो । मानिसहरू उनलाई बिस्तारै चिन्दै थिए किनकी उनलाई पहिलो फिल्म ‘सौदागर’ले स्टार बनाइदिएको थियो । यसको ३ वर्षपछि उनको फिल्म ‘१९४२ अ लभ स्टोरी’ प्रदर्शनमा आयो । यो किस्सा यही फिल्मको सुटिङको समयको हो । फिल्ममा विधु विनोद चोपडाको निर्देशन थियो ।

‘१९४२ः अ लभ स्टोरीको समयको एक घटना छ । जब मैले पहिलोपटक एक दृश्य पढें, त्यो बेला मैले निकै खराब तरिकाले गरिरहेकी थिएँ । निर्देशक विधुले मलाई प्रष्ट रुपमा ‘तिमी अभिनयमा धेरै बेकार छौ’ भने । त्यसपछि मैले उनलाई २४ घण्टाको समय मागें । ‘मैले यदि फेरी पनि यो दृश्य तपाईंले भने जस्तो गरी गर्न सकिनँ भनें, तपाईं जे भन्नुहुन्छ म खुशी साथ स्विकार्छु’ भनें’, मनीषा सम्झिन्छिन् ।

मनीषाले यो घटनाका हरेक भागको वर्णन गरेकी छन् । ‘म घर गएँ । मलाई राम्रो र खराब अभिनयको बारेमा केही थाहा थिएन । यो यस कारण कि, जब म फिल्म सुट गरिरहेको थिएँ, सायद यो मेरो तेस्रो या चौथो फिल्म थियो । मेरो हातमा ३, ४ वटा सिट थियो । मैले त्यसलाई यति पटक पढें कि त्यो गन्न सकिँदैन । म फर्किएँ । पुनः स्क्रिन टेस्ट दिएँ र यसपटक निर्देशकले मेरो काम मनपराए । मलाई फिल्मका लागि लिइयो’, उनले भनेकी छन् ।

उनले जुन फिल्मका लागि यति धेरै मेहनत गरिन, त्यही फिल्मबाट उनी ‘फिल्मफेयर अवार्ड’मा ‘वेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परिन् । मनीषाले २४ घण्टा समय नमागेको भए सायद अगाडिको कथा त्यस्तो हुँदैन थियो, जुन मनीषाले लेखिन् । यसपछि मनीषाले सन् १९९३ देखि १९९६ सम्म लगातार १० फ्लप फिल्म दिइन् ।

यद्यपि फ्लपको सिलसिला सन् १९९६ मा रिलिज नाना पाटेकर र ज्याकी श्राफको फिल्म ‘अग्निपरीक्षा’मा पुगेर रोकियो । सन् १९९६मा मनीषाको अर्को फिल्म ‘खामोशी’ आयो । यो फिल्मलाई ‘मास्टरपीस’ भन्नु गलत हुँदैन । फिल्ममा नाना पाटेकर, मनीषा कोइराला र सलमान खानको अभिनय सबैले मनपराए । यो फिल्मका लागि उनले ‘फिल्मफेयर’मा ‘क्रिटिक्स अवार्ड’ नै जितिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस