गलेश्वरमा ४२ लाख भेटी सङ्कलन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गलेश्वरमा ४२ लाख भेटी सङ्कलन


२९ चैत्र २०८०, बिहिबार


म्याग्दी । बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनाको अवधिमा रु ४२ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म मेलापर्वमा रु. १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु. २२ लाख ७९ हजार सात सय ९२ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।  

कोषका कोषाध्यक्ष कुमारी रोकाले चैत महिनाको बुधबार गणना गरिएको रु चार लाख ५९ हजार  एक सय ३५ सहित चालु आवको नौ महिनामा रु ४२ लाख ५८ हजार छ सय १० भेटी सङ्कलन भएको जानकारी दिए । साउन सोमबारमा रु नौ लाख २७ हजार एक सय ७८, बाला चर्तुदशीमा रु. छ लाख २१ हजार नौ सय २२ र शिवरात्रिमा रु. चार लाख २९ हजार सात सय १८ भेटी सङ्कलन भएको हो । कोषको आम्दानी भेटी र बैंकको ब्याजसहित रु तीन करोड ७० लाखभन्दा बढी रहेको छ । 

मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । 

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । 

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

हिन्दूधर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने गर्छ । यहाँ दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

Tags :
प्रतिक्रिया दिनुहोस