इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत गरेको छ : सभामुख घिमिरे « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत गरेको छ : सभामुख घिमिरे


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ । 

‘विभिन्न जातजातिले आ-आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक-सांस्कृतिक एकतामा अभूतपूर्व नमुना पेस गरेका छन्’, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, ‘यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।’

देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ । 

नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेले स्मरण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस