शान्ति सम्झौतालाई पूर्णता दिन विधेयक आवश्यक : उपसभापति गुरुङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शान्ति सम्झौतालाई पूर्णता दिन विधेयक आवश्यक : उपसभापति गुरुङ


२८ चैत्र २०८०, बुधबार


दमौली (तनहुँ) । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिन सङ्क्रमणकालीन न्यायको विधेयक आवश्यक रहेको बताएका छन् ।  

सहिद विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले २३औँ स्मृति दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका-६ मा आज आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभापति गुरुङले उक्त विधेयक बनाउने क्रममा रहेको बताए । 

उनले भने, “शान्ति सम्झौताको नेतृत्व काँग्रेसले गरेको हो । उक्त विधेयक बनाएर पीडितलाई न्याय दिने सवालमा काँग्रेसको भूमिका हुनुपर्छ ।”

अझै विधेयक ल्याउन नसकिएको बताउँदै उपसभापति गुरुङले विधेयक बनाउने क्रममा सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उल्लेख गरे । विधेयक बनाएपछि मात्रै पीडितले न्याय पाउने र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने उनको भनाइ थियो । 

सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको बताउँदै उनले भने, “मैले पार्टीको आन्तरिक बैठकमा धेरै पटक यो विषय उठाए, गत चैत २३ गते म आफैँ प्रस्तावक भएर संसद्मा यो विषय सार्वजनिक महत्वको प्रस्तावका लागि दर्ता गराएको छु ।”

Tags :
प्रतिक्रिया दिनुहोस