चिट चोराउने प्रधानाध्यापक र शिक्षक जनही ६० हजार धरौटीमा रिहा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चिट चोराउने प्रधानाध्यापक र शिक्षक जनही ६० हजार धरौटीमा रिहा


२८ चैत्र २०८०, बुधबार


बाँके । बाँकेमा चिट चोराउने प्रधानाध्यापक र शिक्षक जनही ६० हजार रुपैयाँ धरौटीमा तिरेर रिहा भएका छन् । लोटस इङ्ग्लिस मिडियम हाई स्कुलका प्रधानाध्यापक तपन शर्मा र पार्ट टायम शिक्षक मोहमद अल्ताफ खान जनही ६० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।

एसइई परीक्षामा ह्वाट्सएप ग्रुप बनाइ मोबाइलमार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न भएका कारण उनीहरू पक्राउ परेका थिए । चैत २०  गते सञ्चालन भएको विज्ञान तथा प्रविधि विषयको ज्ञानोदय विद्या निकेतन नेपालगन्ज– २ केन्द्रमा सञ्चालन भएको परीक्षामा उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ह्वाट्सएप ग्रुप बनाइ चिट चोराएका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई आएको गोप्य सूचनाको आधारमा एवान कन्सल्टेन्सीमा छापा मारी ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको थियो । उनीहरूले मोबाइलबाट प्रश्नपत्र आउट गराउने र त्यसको उत्तर तयार गरी पठाउने धन्दा गरिरहेका पाइएको थियो । कन्सल्टेन्सीबाट ईरफान अलि मिकरानी, सन्तोष नेपाली र दिलीप बिकलाई नियन्त्रणमा लिइएको थियो । परीक्षाको मर्यादा विपरीतका गतिविधिमा संलग्न पाँच जनालाई नै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

त्यसमध्ये एक नाबालक भएकोले बाल इजलासमा पेस गरिएको छ । बाँकी चार जनालाई मङ्गलवार शिक्षा ऐन बमोजिम परीक्षाको मर्यादा विपरीतको कसुर र सजायको माग दाबीसहित प्रशासन समक्ष पेस भएकोमा प्रजिअ पोखरेलको आदेशले प्रधानाध्यापक र शिक्षकलाई जनही ६० हजार रुपैयाँ र कन्सल्टेन्सीमा फेला परेका २ जनालाई जनही ३० हजार रुपैयाँ  धरौटीमा छाडेको छ । ‘पाँचै जनालाई धरौटीमा छाड्ने निर्णय भएको हो । थप प्रमाण बुझी फैसला भने पछि नै हुने छ,’ प्रजिअ पोखरेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस