गृहद्वारा एपीएफको गोदाममा आगलागी घटनाबारे छानबिन गर्न अर्को समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गृहद्वारा एपीएफको गोदाममा आगलागी घटनाबारे छानबिन गर्न अर्को समिति गठन


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारणमा भएको आगलागी बारे छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य रहेका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्णयानुसार समिति गठन भएको हो ।

समितिलाई आगलागीको विषयमा सत्य तथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार समितिले आगलागीको क्षतिको विवरण, आगलागीको कारण, भण्डारमा आगलागी तथा अन्य विपद्जन्य जोखिम न्यूनीकरणका लागि गरेको पूर्व तयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लागि गर्नुपर्ने सुधार लगायतका विषयमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउने छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय भण्डारणमा सोमबार साँझ आगलागी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस