गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता


२६ चैत्र २०८०, सोमबार


मकवानपुर । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ ।

हेटौँडा उपमहानगरपालिका-१२ घलेगाउँमा रहेको कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो । गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ ।

झन्डै चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिकाको उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । उपमहानगरकी मेयर मिनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताए ।

उपमहानगरको एक लाख रुपैयाँ लगानीबाट सुरु अर्ग्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताइन् । अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा तीन लाख रुपैयाँ बराबरको गुन्द्रुक यत्तिकै थन्किएको र अब भने सजिलो भएको उनले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस