राप्रपाले चैत २७ गते काठमाडौँमा ५० हजारभन्दा बढीलाई उतार्ने  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राप्रपाले चैत २७ गते काठमाडौँमा ५० हजारभन्दा बढीलाई उतार्ने 


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीलाई उतार्ने दाबी गरेको छ ।

जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिए । आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनले सुरक्षाको उचित प्रबन्धका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो दिनमा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने, लाठीचार्ज गर्ने काम भएको भन्दै लिङ्देनले त्यसको निन्दा गरेका छन् । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शनले काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने राप्रपाले जनाएको छ । आफूहरूको एजेण्डमा सहमत जनाउनेलाई राप्रपाले सहभागिताको लागि आव्हान गरेको छ ।

राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने, सङ्गठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस