पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो


२४ चैत्र २०८०, शनिबार


वीरगञ्ज (पर्सा) । पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग  दर्ता बढेको हो ।  

 दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग  दर्ता हुने गरेकामा करिब ७० प्रतिशत  व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताए । उनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा छ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये दुई सय ९९ व्यवसायका सञ्चालक महिला छन् ।  महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छन् भने उद्योगतर्फ  कृषि, माछा तथा पशुपालन छन् । 

नयाँ दर्ता भएका उद्योगमा एक हजार सात सय नौ जना पुरुष र एक हजार दुई सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ । आठ महिनामा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजी वृद्धि गरिएको छ । सो अवधिमा सात सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, छ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ । नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा रु ५४ लाख १९ हजार ७५ दाखिला भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस