दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप


२३ चैत्र २०८०, शुक्रबार


जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा-एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ ।

‘मापिसा-एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष भने ।

अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) की नेता मापिसा एनकाकुला मौन रहेका थिए र पछि उनलाई जमानतमा रिहा गरिएको थियो ।

उनका वकिल ग्राहम केर-फिलिप्सले मापिसा एनकाकुलालाई उद्धृत गरी जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘मविरूद्धको मुद्दा निकै कमजोर र राजनीतिक पूर्वाग्रहले ग्रसित छ । मैले राज्यबाट निवृत्तिभरण पाउँछु त्यसैले मैले विदेश पलायनको जोखिम उठाउने छैन ।’

संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।

राष्ट्रपति सिरिल रामाफोसा र उनका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिएका छन् ।

उनीमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको थियो । उनले उक्त आरोपको खण्डन गरेका छन् ।

मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख र्‍याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ मागेका थिए । उनलाई २१ लाख रुपैयाँ घूस दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् र आवश्यक परेकोसमयमा प्रमाण दिन सक्ने बताएका छन् ।

न्यायाधीशले ५० हजार र्‍यान्डको जमानत तोक्दै मुद्दालाई जुन ४ सम्मका लागि स्थगित गरेका छन् । यस क्रममा मापिसा-एनकाकुलाले आफ्नो राहदानी हस्तान्तरण गर्नु पर्नेछ र राज्यका साक्षीहरूसँग कुनै पनि सम्पर्कबाट बच्नुपर्नेछ ।

बुधबार मापिसा–एनकाकुलाले संसदको सभामुख र सांसदपदबाट तत्काल प्रभावका साथ राजीनामा दिएका थिए ।

राजीनामा पत्रमा उनले आफू निर्दोष रहेको बताएका थिए तर संसदको निष्ठा कायम राख्न र आफूमाथिको अनुसन्धानमा ध्यान केन्द्रित गर्न आफूले राजीनामा दिने निर्णय गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘ममाथि लगाइएका बहुचर्चित आरोपको गम्भीरतालाई ध्यानमा राख्दै म यो भूमिकामा रहिरहन सक्दिनँ ।’

जोहानेसबर्गको पूर्वी उपनगरमा रहेको मापिसा-एनकाकुलाको निवासमा गत मार्चमा उच्च अनुसन्धान टोलीका सदस्यहरूले छापा मारेपछि यो कदम चालिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस