काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालको छोरीसहित ६ जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि रिक्त रहेको उक्त पदमा माधवपुत्री डा. सुमन नेपालसहित तीन जनाको नाम खुलेको छ भने अन्य तीन जनाको नाम खुलाइएको छैन । डा. सुमन छाला रोग विशेषज्ञ हुन् ।
काउन्सिल सदस्यका लागि डा. सुमन नेपाल, डा. रिकेशजंग कार्की, डा. मनोजमान श्रेष्ठसहित अन्य तीन विधाका ३ जनाको नाम फाइनल गरी मन्त्रिपरिषदमा पठाइएको हो ।
यसअघिको सरकारमै रहेका स्वास्थ्यमन्त्री रहेका बेला पनि यो फाइल पठाइएकोमा मन्त्री फेरिएपछि फिर्ता आएको र अहिले पुनः पठाइएको हो । डा. सुमन नेपालको नाम यसअघिको सिफारिसमा पनि परेको थियो ।
मन्त्रालयले भने अहिले यो नाम पठाइए पनि मन्त्रिपरिषद् बैठकले यी नाम फेरेर अन्य नाम पठाउन सक्ने भएकाले गोप्य राख्न खोजेको बुझिएपनि सिफारिसमा परेकाहरूबाटै यी नाम सार्वजनिक भएको हुनसक्ने जनाइएको छ ।







