३ खर्ब नाघ्यो शोधनान्तर बचत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

३ खर्ब नाघ्यो शोधनान्तर बचत


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । माघमा रेमिट्यान्समा केही संकुचनले स्थिर देखिएको चालु खाता बचत फागुनमा पुन बढेको छ । चालु आर्थिक वर्ष (आव) को आठ महिना (साउन-फागुन) मा आउँदा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९-८० को सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । माघमा रेमिट्यान्स चालु आव लागेपछिकै कम १ खर्ब ६ अर्बमा सीमित भएपछि चालु खाता बचत पनि स्थिर भएको थियो । तर फागुनमा रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता सँगै शोधनान्तर बचत पनि उल्लेख्य बढेको छ ।

आर्थिक वर्षको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको फागुनसम्मको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४२ अर्बले बचतमा रहेको शोधनान्तर बचत चालु आवको सुरुवातदेखि नै उल्लेख्य रूपमा बढेको छ ।

यस्तै आर्थिक वर्षको ८ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस