सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसका १८ सांसद छन् । बहुमतका लागि २७ सांसद चाहिन्छ ।

गठबन्धनसँग माओवादीका १० ९सभामुख बाहेक०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । मुख्यमन्त्री शाहलाई बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ । प्रदेशसभामा नाउपाका ७ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ ।

काँग्रेसका सबै, नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको विवादका कारण त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

मुख्यमन्त्री शाहलाई नाउपा सुदूरपश्चिम संसदीय दलले विश्वासको मत दिन चाहन्छ तर, केन्द्रले विश्वासको मत नदिन भन्दै निर्देशन दिएपछि पार्टीभित्र थप किचलो देखिएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर निर्देशन दिएकी छन् ।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

यता नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस