भ्रष्टाचारको आरोपमा स्पेनका पूर्व फुटबल प्रमुख रुबियालेस पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भ्रष्टाचारको आरोपमा स्पेनका पूर्व फुटबल प्रमुख रुबियालेस पक्राउ


२२ चैत्र २०८०, बिहिबार


म्याड्रिड । स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ) मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६ वर्षीय रुबियालेसलाई विमानस्थलबाटै पक्राउ गरी केही समयपछि रिहा गरिएको गार्डिया सिभिल प्रहरीका प्रवक्ताले बताए ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनलाई प्रहरीले विमानबाट ओर्लिए लगत्तै पक्राउ गरी  विमानस्थलभित्र सोधपुछ गरिएको थियो ।

भ्रष्टाचार र अन्य अपराधको अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले आरएफइएफको म्याड्रिड मुख्यालय र दक्षिणी शहर ग्रानाडास्थित रूबियालेसको घरसहित ११ स्थानमा छापा मारेको दुई हप्तापछि उनलाई पक्राउ गरिएको हो ।

न्यायिक स्रोतका अनुसार मार्च २० मा गरिएको छापा ‘व्यवसायमा भ्रष्टाचार, कपटपूर्ण प्रशासन र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुमानित अपराधसँग सम्बन्धित अनुसन्धानको एक हिस्सा’ थियो ।

स्पेनी सञ्चारमाध्यमका अनुसार अनुसन्धानकर्ताहरूले सन् २०१८ देखि हस्ताक्षरित आरएफइएफ सम्झौताबारे अनुसन्धान गरिरहेका छन्, जसमा रुबियालेसले ‘स्पेनिस सुपर कप’लाई साउदी अरबमा लैजानका लागि हस्ताक्षर गरेको आरोप लागेको छ ।

बार्सिलोना र स्पेनका पूर्व डिफेन्डर जेरार्ड पिकेको स्वामित्वमा रहेको कम्पनी कोस्मोसको मध्यस्थतामा सुपर कपको सम्झौता वार्षिक ४० मिलियन युरो(४३.३ मिलियन डलर) मा भएको छ । 

‘क्याडेना सेर रेडियो’का अनुसार गार्डिया सिभिल प्रहरी डोमिनिकी गणतन्त्रमा गई सोमबार रुबियाल्स बसेको परिसरमा खानतलासी गरेको थियो र अनुसन्धान अधिकारीको अनुमतिपछि एक ल्यापटप र एक मोबाइल फोन जफत गरेको थियो । एएफपीले सम्पर्क गर्दा गार्डिया सिभिलले उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

मार्च २० मा छापा मारेको एक दिनपछि आरएफइएफले यसका कानुनी निर्देशक पेड्रो गोन्जालेज सेगुरा, मानव संसाधन प्रमुख जोस जेभियर जिमेनेजलाई बर्खास्त गरेको छ र महासङ्घका बाह्य कानूनी सल्लाहकार टोमस गोन्जालेज क्युटोको कानुनी फर्म जीसी लिगलसँगको सम्झौता रद्द गरेको छ । प्रहरीले तीनै जनालाई मङ्गलबार नै पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस