शिक्षक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिने शिक्षामन्त्री श्रेष्ठको दाबी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शिक्षक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिने शिक्षामन्त्री श्रेष्ठको दाबी


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने, शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग सम्बन्ध हुन निषेध गर्ने भन्ने कुरामा हामी सबै एकबद्ध छौँ । यसको ऐन नै पनि छ । जसमा सबै सर्वसम्मत हुनुहुन्छ,’ मन्त्री श्रेष्ठले भनिन् ।

शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रावधान छ । प्रचलित यो ऐनमा सबै सर्वसम्मत रहेको शिक्षामन्त्री श्रेष्ठले दाबी गरेकी हुन् ।

विद्यार्थी सङ्गठनहरूको पनि दुरुपयोग भएको शिक्षामन्त्री श्रेष्ठ बताउँछिन् । ‘हामीले युवा विद्यार्थीहरूको भातृ सङ्गठन बनायौँ । सुरुमा अरू केही उद्देश्य भए पनि अहिले राजनीतिक रूपमा दुरुपयोग भएको सबैलाई जगजाहेरै छ’ मन्त्री श्रेष्ठले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस