मार्कीचोक-नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मार्कीचोक-नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक-नयाँ भरतपुर प्रसारण लाइन महत्त्वपूर्ण रहेकाले निर्माणमा तीव्रता दिन आग्रह गरेको छ ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समयतालिका लगायत विषयमा जानकारी लिएको थियो ।

आयोजनाका तर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिमा रहेको लामो कानुनी प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण काम प्रभावित भइरहेको जानकारी गराइएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्र निर्माण नसके २–३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।

घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालय प्रमुखलाई फोन गरेर वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्त्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिटो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

आयोजनाअन्तर्गत लमजुङ उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्म प्रसारण लाइन निर्माण गर्न ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नुपर्ने छ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान गर्न स्वीकृति दिएको थियो ।

वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सोही बराबर जग्गा उपलब्ध गराउनुपर्ने वन नियमावली, २०७९ मा भएको व्यवस्था बमोजिम आयोजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

नियमावलीमा भएको व्यवस्था बमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भूबनोट भएका निजी जग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताए ।

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ३५ टावरको जग हालिएको छ । ५ टावर खडा गरिएको छ ।

यो आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

दोस्रो प्याकेज अन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ । तेस्रो प्याकेज अन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुइटा सबस्टेसन निर्माण भइरहेका छन् ।

नेपाल सरकार लगानी र युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस