गैर कानुनी कार्य नियन्त्रणसँगै राजस्वमा उल्लेख्य वृद्धि, सशस्त्र र नेपाल प्रहरीको सक्रियता बढाइँदै  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गैर कानुनी कार्य नियन्त्रणसँगै राजस्वमा उल्लेख्य वृद्धि, सशस्त्र र नेपाल प्रहरीको सक्रियता बढाइँदै 


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । गृह प्रशासनले गैर कानुनी कार्य नियन्त्रण गर्ने क्रममा राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको यही अवधिको तुलनामा नेपाल प्रहरीतर्फ २४ प्रतिशत र सशस्त्र प्रहरीतर्फ ६ प्रतिशत राजस्व बढेको हो ।

पछिल्लो २४ दिनको तथ्याङ्क हेर्दा नेपाल प्रहरीतर्फ २४ प्रतिशत र सशस्त्र प्रहरीतर्फ ६ प्रतिशत राजस्व बढेको गृह मन्त्रालयले जनाएको छ । अवैधरुपमा ल्याइएका सामग्री बरामतबापत तत्काल रूपमा गरिएको मूल्याङ्कनका आधारमा उक्त राजस्वमा वृद्धि भएको हो । गृह प्रशासनले गैर कानुनी कार्य नियन्त्रण गर्ने क्रममा राजस्व सङ्कलनमा वृद्धि भएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

गृह सचिव एकनारायण अर्यालले पहिलो निर्देशनमै राजस्व वृद्धिमा उल्लेख्य योगदान पुर्‍याउन सक्ने र त्यसका लागि विशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका थिए । गत फागुन ३० मा पद बहाली गरेसँगै गृह सचिव अर्यालले राजस्व बढाउनेतर्फ गृह प्रशासनले सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै केही समयभित्रै नतिजा देखिनेसमेत बताएका थिए । जससँगै एक महिना नै नपुग्दै उत्साहजनक नतिजा देखिएको छ । 

गैर कानुनी काम गर्ने, गराउने र त्यस्तो कार्यलाई सघाउनेलाईसमेत कडा कारबाही गरिने चेतावनी दिएका गृह सचिव अर्यालको उक्त निर्देशनपछि कानुनी कडाइ गर्दा राजस्वमा वृद्धि भएको हो । विशेष गरी सीमा क्षेत्रमा हुने अवैध आयात÷निर्यात नियन्त्रण गर्न र गैर कानुनी कार्य रोकिएसँगै त्यसको प्रत्यक्ष प्रभाव राजश्वमा देखिएको हो ।

गृह प्रशासनले आफ्ना संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरी विश्वासको वातावरण निर्माण गर्न नसक्दा प्रभावकारी नतिजा हासिल हुन नसकेको भन्दै गृह सचिव अर्यालले गृह मन्त्रालय अन्तर्गतका निकाय र व्यक्तिमाथिको अविश्वासको प्रभाव अर्थतन्त्र र सुरक्षामा पनि देखिएको भन्दै उक्त चुनौतीलाई सामना गर्न तत्कालै जुट्नुपर्ने बताउँदै आएका छन् । 

सरकारका सुरक्षा निकायहरूबिचमै समन्वय नहुँदा राजस्व घटेको उल्लेख गर्दै बढेको राजस्वका आधारमा कर्मचारीहरूलाई मोटिभेट गर्नुपर्ने गृह सचिव अर्यालको भनाई रहेको छ । आफू नतिजामा विश्वास गर्ने र त्यसलाई कसैले पनि नकार्न नसक्ने भएकोले नतिजासँगै सुरक्षा निकायहरूलाई प्रोत्साहन गर्ने गरी योजना ल्याउनुपर्ने र आफू त्यसका लागि लागिपर्ने गृह सचिव अर्यालले आफ्नो पहिलो निर्देशनका क्रममा बताएका थिए । सोही अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सक्रियता बढाएसँगै उत्साहजनक नतिजा देखिएको गृह अधिकारीहरूको भनाई छ । 

सम्बन्धित समाचार: गृह सचिवको घोषणा– ‘अब गृह प्रशासनलाई बिचौलियाबाट मुक्त बनाइनेछ’

Tags :
प्रतिक्रिया दिनुहोस