एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुने ईश्वर पोखरेलको दाबी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुने ईश्वर पोखरेलको दाबी


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन-०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका छन् ।

राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उनको भनाइ छ । ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुँदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ, ‘उनले भने, ‘देशमा एमालेको आवश्यकता छ ।’

एमाले बाराको ११ औँ जिल्ला अधिवेशनको कलैयामा सोमवार उद्घाटन गर्दै उनले यस्तो दाबी गरे । ‘एमालेले देशमा स्थिरता ल्याएपछि मात्र विकास हुन्छ,’ उनले भने, ‘मधेसमा मल कारखाना, कोशी मरिण डाइभर्सन, बन्द उद्योगलाई पुनर्जीवन दिने एमालेको अठोट छ ।’ गाउँ नगरदेखि केन्द्रको राजनीति ४० प्रतिशत युवा समेटेर पार्टी अगाडि बढ्ने उनले बताए ।

युवालाई अघि सार्ने क्रममै आगामी वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनमा पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिइएको उनले बताए । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालीन गठबन्धन आफ्नै बोझले ढलेपछि पछिल्लो समीकरण बनेको उनको दाबी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस