बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपा अध्यक्षले दिए कारबाहीको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपा अध्यक्षले दिए कारबाहीको चेतावनी


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ । पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् ।

मकवानपुरको हेटौँडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरेले बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेको आरोप लगाएका छन् । उनले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताए ।

बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।

अध्यक्ष घिमिरेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । यद्यपि, शपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए ।

बज्राचार्यलाई हेटौँडा-१०, स्थित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले साढे ६ बजे पद तथा गोपनीयताको शपथ गराए थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस