राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरवारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

“सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन”, उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए ।

द्वन्द्वपीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस