आन्तरिक राजश्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आन्तरिक राजश्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला 


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । आन्तरिक राजश्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाइएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधवार(आज) केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका तिवारीलाई विभागको महानिर्देश बनाई पठाएका हुन् । 

सम्बन्धित समाचार : आन्तरिक राजश्व विभागका महानिर्देशकसहित पाँच सहसचिवको सरुवा

त्यसैगरी भन्सार विभागको महानिर्देशकमा ढुण्डी प्रसाद निरौलालाई नियुक्त गरिएको छ । उनी पनि केही दिनअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका थिए । निरौलालाई भन्सार पठाएसँगै त्यहाँका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पुर्‍याइएको छ । त्यहाँका तालिम प्रमुख राम प्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ । 

यसैगरी राजश्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको छ । दुई वटा विभागसँगै बजेट महाशाखा आकर्षक मानिन्छ । बजेटका उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कनमा सारेर त्यहाँका धनिराम शर्मालाई शाक्यको महाशाखा राजश्व व्यवस्थापन महाशाखा प्रमुखमा राखिएको छ । 

नयाँ सत्ता समीकरणसँगै कर्मचारीहरूको सरुवाबारे पनि चर्चा शुरु भएको थियो । निकटस्थहरूलाई ल्याउने र त्यसअघि पनि त्यसैगरी निकटस्थ भएर गएकाहरूलाई पन्छाउने प्रक्रियाले केही समय कर्मचारी वृत्तमा चर्को दौडधुपसमेत बढाएको थियो । पछिल्लो समय राजनीतिक आस्था र सम्बन्ध तथा खुस बनाउन सक्ने खुबीका कारण कर्मचारीलाई जिम्मेवारी दिइँदै आइएको छ । 

नागरिकलाई सेवा र मुलुकको हित भन्दा पनि आफू, आफन्त, ‘सेटिङ’ र ‘मालिक’हरूलाई रिझाउन सक्नुलाई नै क्याडर मानिन थालिएसँगै यसैगरी चलिरहेको छ निजामती प्रशासन । र, सिङ्गो निजामतीका अभिभावकसमेत रहेका पछिल्ला केही मुख्यसचिवहरु त्यसैमा सहजीकरण गर्दै ‘जस्तो जस्तो बाहुन उस्तै उस्तै स्वाहा’मा स्वाद लिई रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस