यस्ता छन् कोशी मन्त्रिपरिषद् बैठकका निर्णय  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यस्ता छन् कोशी मन्त्रिपरिषद् बैठकका निर्णय 


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मायाको चिनो वा उपहार प्रदान गर्दा प्रदेशमा उत्पादन भएका वस्तुलाई प्रोत्साहन गर्नेसहित तीन वटा निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार प्रदेशका सबै सार्वजनिक निकायले पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, सार्वजनिक कार्यक्रमका अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा तथा कर्मचारीको स्वागत र  बिदाइमा दिइने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय गरेको हो ।

बैठकले किरात समुदायको धार्मिक स्थल खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठक महिनाको एक पटक धनकुटामा बस्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

कोशी प्रदेशको राजधानी विराटनगर घोषणा हुँदा धनकुटामा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको थियो । तर कार्यालयमा यसअघि बैठक बसेको थिएन ।

सम्पर्क कार्यालयमै मंगलबार नै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको थियो । बैठकले आगामी जेठ ७ ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस