ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने सम्बन्धमा काठमाडौँ प्रशासनद्वारा सरोकारवालासँग छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने सम्बन्धमा काठमाडौँ प्रशासनद्वारा सरोकारवालासँग छलफल


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आगामी केही दिन भित्रमै ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने विषयमा सम्बन्धित सबै निकायहरू र व्यवसायीहरूसँग छलफल गरेका हुन् ।

प्रशासनले तयार गरेको आचार संहिताका विषयमा काठमाडौँ महानगरपालिकाका अधिकारी, व्यवसायी लगायतसँग सोमबार छलफल भएको हो । छलफलका क्रममा सहभागीहरूले आचार संहिता अध्ययन गरेर एक दुई दिनमै प्रतिक्रिया दिने बताए । प्रशासनले व्यवसायी र अन्य क्षेत्रबाट आएका सुझावका आधारमा यसै साता टुंग्याउने गरी काम गरिरहेको छ । छिटोमा यसै साता र ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला गर्ने गरी तयारी भई रहेको छ ।

छलफलमा प्रजिअ बस्नेतले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गरिने बताए । व्यवसायी र स्थानीय बासीहरू सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिन सकिने उनले बताए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयले यसको तयारी थालेको हो । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने छ ।

सम्बन्धित समाचार : ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी

Tags :
प्रतिक्रिया दिनुहोस