विशेष अदालतले मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि बोलायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विशेष अदालतले मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि बोलायो


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालियन कम्पनी सीएमसी रेभेना र परामर्शदाता इप्टिसालाई बयानका लागि बोलाएको छ । बाटोको हदम्यादबाहेक १५ दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन कम्पनीका प्रतिनिधिहरूलाई बोलाएको हो ।

गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै खानेपानी मन्त्रालयका तत्कालीन ३ सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । परामर्शदाता र निर्माण कम्पनी विरुद्ध पनि मुद्दा दायर भएको थियो ।

ठेकेदार कम्पनी सीएमसी रेभेनालाई रकम भुक्तानी गर्दा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएपछि मुद्दाबारे जानकारी दिन विदेशी कम्पनी भएकाले सूचनामार्फत बयानका लागि बोलाइएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अन्य अभियुक्तलाई भने पमत्रमार्फत नै बयानका लागि बोलाइएको छ ।

विशेष अदालतले ठेकेदार सीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोमामो पाउलेट्टी, परामर्शदाता इप्टिसाका सीईओ यिरान मेई र ईप्टिसासँग संयुक्त उपक्रममा रहेको बीईटीएसका प्रबन्ध निर्देशक अब्दुस साहबुरलाई बयानमा बोलाएको छ ।

अख्तियारले निर्माण कम्पनी सीएमसी रेभेना विरुद्ध ६५ करोड १४ लाख रुपैयाँ बिगो मागदावी गरेको छ । परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्माविरुद्ध ४८ करोड ३६ लाख रुपैयाँ बिगो मागदावी गरेको छ । त्यही कम्पनीविरुद्ध ८७ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस