विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको तथ्याङ्क उपलब्ध गराउन श्रममन्त्री अर्यालको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको तथ्याङ्क उपलब्ध गराउन श्रममन्त्री अर्यालको निर्देशन


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् ।

गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको समेत तथ्याङ्क उपलब्ध गराउन मन्त्री अर्यालले वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएका छन् ।

वैदेशिक रोजगार बोर्डसँग सोमबार भएको छलफलमा उनले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताए । श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन उनले निर्देशन दिए ।

सबै गन्तव्य मुलुकबाट तथ्याङ्क संकलनपछि उद्धार तथा समस्या समाधानको योजना बनाइने उनले बताए ।

उनले भने, ‘विदेशी अस्पतालमा रहेका श्रमिकलाई नेपालमै उपचार गरिने व्यवस्था मिलाइनेछ । बन्दीगृहमा रहेका श्रमिकलाई कानूनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौँ । विदेशमा रोकिएका शव पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस