प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति पौडेल  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति पौडेल 


३ चैत्र २०८०, शनिबार


लहान (सिरहा) । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्न आग्रह गरेका छन् ।  

पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।

“सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ”, उनले भने ।

त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको पनि उनले बताए ।

“यहाँका विद्यालयले स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी बालबालिकालाई युग सुहाउँदो शिक्षा प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउने मैले विश्वास लिएको छु”, उनले भने, “विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा संवर्द्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ, जहाँ हाम्रा सन्तति र कर्णाधारको भविष्य सुरक्षित हुनेछ ।”

उनले शिक्षाको विकासका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको समेत बताए । “त्यसैले विद्यालयप्रति स्थानीय निकाय, अभिभावक र समुदायको अविच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ, श्रम गर्ने संस्कृतिको सम्मान, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलापसँगै राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिन आवश्यक पाठयक्रम र पठनपाठन विधि अपनाउन पनि म यहाँहरूलाई आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भने । 

उनले त्यसका लागि तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि रहेको बताए ।

सात दशकभन्दा बढी लामो समयसम्म स्थानीयस्तरमा सहज र सरलरूपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सामाजिकलगायतका क्षेत्रमा पुर्याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गरे । साथै भविष्यमा पनि सो विद्यालयले दक्ष जनशक्ति, आवश्यक प्राविधिक एवं भौतिक पूर्वाधार तथा विद्यार्थी एवं अभिभावकको चाहनाअनुसारको पठनपाठनमा अझै प्रगति गरोस् र देश विदेशमा विद्यालयबाट शिक्षित भएका विद्यार्थीले देशको शान तथा गौरव उँचो बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।

हीरक जयन्तीका अवसरमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना व्यक्त गरेका थिए। उनीहरूले विद्यालयको अझै उत्तरोत्तर प्रगति कामना गर्दै आफ्नो विद्यालय समयको स्मरण गरे । उनीहरू तीनै जना यही विद्यालयका पूर्व विद्यार्थी तथा दाता परिवारका सदस्यसमेत छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले दुई दर्जनजति जग्गादाता र पूर्वविद्यार्थीलाई समान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस