सीआईबीले भन्यो-सत्य र तथ्यपरक समाचार मात्र प्रकाशित गर्नु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीआईबीले भन्यो-सत्य र तथ्यपरक समाचार मात्र प्रकाशित गर्नु


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सत्य र तथ्यपरक समाचारहरुमात्र प्रकाशित गरी सहयोग गरिदिन अनुरोध गरेको छ । 

१४ के.जी. सुन भन्सार चोरी पैठारी मुद्दामा फरार प्रतिवादी पक्राउ सम्बन्धमा सीआईबीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले विज्ञप्ति निकालेर १४ के.जी. सुन तस्करी प्रकरणमा सीआईबीले कुनै अनुसन्धान नगरेको स्पष्ट पारेका छन् ।

‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अनुसन्धान भइरहेको १४ के.जी. सुन भन्सार चोरी पैठारी मुद्दामा फरार प्रतिवादी पक्राउ गरी सहयोग गरी दिने भनी भन्सार कार्यालयको अनुरोध पत्रको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मुद्दामा संलग्न फरार प्रतिवादी वर्ष ६२ का जीवन कुमार गुरुङ (ना.प्र. ८७) लाई कानून बमोजिम मिति २०८०/११/१४ गते पक्राउ गरी सोही दिन आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको हो,’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट नै अनुसन्धान भइरहेको र यस कार्यालयबाट सो मुद्दा सम्बन्धमा कुनै अनुसन्धान नभएको हुँदा विभिन्न सञ्चार माध्यमहरूमा यस कार्यालयको हवला दिँदै प्रकाशित समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको छ । यस कार्यालयसँग सम्बन्धित समाचारहरू प्रकाशित गर्दा सत्य र तथ्यपरक समाचारहरुमात्र प्रकाशित गरी सहयोग गरिदिनु हुन समेत सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा यस कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस