यौन दुर्व्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यौन दुर्व्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ ।

सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र उक्त अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सय जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरूमध्ये एक सय ७८ जनामाथि भने मुद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यो अभियान प्रहरीले २०७४ देखि नै सुरु गरेको र २०७७ देखि भने कार्ययोजना नै स्वीकृत गरी अभियान जारी रहेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरीले महिला बालबालिकाको मानसिक तथा अमर्यादित क्रियाकलापमा पीडित र साक्षी मौन बस्ने गरेको देखिएको र विभिन्न पार्क, सार्वजनिकस्थल, मनोरञ्जनात्मक स्थल, सेवा प्रवाह हुने ठाउँ, कार्यालय वा जमघट हुने स्थानमा यौनजन्य दुर्व्यवहार बढी हुने पाइएकाले त्यस्ता गतिविधि र अन्य आपराधिक क्रियाकलाप रोक्न उक्त अभियान थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस