प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, उपमेयरसहित तीन जना पक्राउ (भिडियोसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, उपमेयरसहित तीन जना पक्राउ (भिडियोसहित)


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । बिहीबार बसेको कार्यपालिका बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्ण देव जोशीमाथि कुटपिट भएको हो ।

कुटपिटबाट घाइते भएका जोशीलाई थप उपचारका लागि धनगढी लगिएको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । नगरपालिका स्रोत अनुसार नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले उनीमाथि कुटपिट गरेका हुन् । 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट

कर्मचारीहरूद्वारा जारी विज्ञप्तिअनुसार नगर कार्यपालिकाको बैठकको क्रममा उपमेयर विमला कुमारी बोहरा, वडा नं. ७ का वडाध्यक्ष कर्ण बहादुर धामी, वडा नं १ का वडाध्यक्ष लाल बहादुर धामी लगायतको समूहले नि. प्रमुख प्रशासकीय अधिकृत माथि ज्यान मार्ने उद्देश्यले सुनियोजित रूपमा आक्रमण गरेको हो । कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै नगरपालिका तथा यस अन्तर्गतका सम्पूर्ण कार्यालयहरूको अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि ठप्प गरिएको जानकारी गराएका छन् ।

शिक्षा शाखा प्रमुखबाट आफ्नो स्वार्थ पूर्ति नभएको कारण यसअघि पनि पटक पटक हातपातको प्रयास भएको, जागिर खाइदिने धम्की दिने गरेको र काज फिर्ता गर्न दबाब दिँदै आएका विज्ञप्तिमा उल्लेख छ । 

माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । बिहीबारको बैठकमा उनीहरूले सोही माग दोहोर्‍याएपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूहरूले काज फिर्ता गर्न नसक्ने बताएका थिए । सोही विषयमा जोशीमाथि हातपात भएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार उपमेयर बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी र सो प्रयास पुरा नभएपछि बैठकमा उनले विवाद गरेकी हुन् । 

यसबारे बुझ्न खोज्दा उपमेयर बोहराको फोन उठेन । मेयर भरत बडायर जोशी काँग्रेस र उपमेयर बोहरा माओवादीबाट निर्वाचित भएको हुन् ।  

वडा नं. ७ का वडाध्यक्ष कर्ण बहादुर धामी ले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नभएको बताए । उनले राजनीतिकरुपमा परिचालित भएर अनावश्यक आरोप लगाइएको बताए । 

‘कार्यपालिका बैठक सुचारु भएपश्चात् एजेन्डामा छलफल हुँदै थियो । उपमेयरले राखेको धारणामा मेयरले जवाफ दिनुपर्नेमा वडा नं. ६ का वडाध्यक्ष खगेन्द्र बहादुर सिंहले जवाफ दिने क्रममा मेयरसाबको पक्षपोषण गरेर अमर्यादित ढङ्गबाट प्रस्तुत हुनुभयो’, उनले भने, ‘हामीले यो कुरालाई सहजीकरण गर्न खोज्यौँ । तर, मेयरसाबले ल भिड्ने भए भिडौँ न त भने पछि बैठकमा तनावको स्थिति बनेको हो ।’ 

बैठकमा भनाभन र तर्क वितर्क भएको उनले बताए । ‘तनावको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत बाहिर जाने क्रममा चिप्लिनु भए होला’, उनले भने, ‘उहाँलाई चोटपटक लागेको भए हामी दुःख व्यक्त गर्छौँ । शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ 

उपमेयरसहित तीन जना पक्राउ
कुटपिटको घटना पछि तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् । उपमेयर विमला कुमारी बोहरा, वडा नं. ७ का वडाध्यक्ष कर्ण बहादुर धामी र वडा नं १ का वडाध्यक्ष लाल बहादुर धामी पक्राउ परेका हुन् । 

तीन जना जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । मेयर भरत बडायर जोशीले प्रहरीमा ठाडो निवेदन दिएका छन् ।

भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस