काठमाडौँ । सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्न डोजरसहितको टोली परिचालन गरिएको छ ।
समितिको जग्गामा बनेका संरचना भत्काउन सार्वजनिक सूचना निकालेर अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजरसहित टोली परिचालन गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका-६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन र घण्टाघर क्षेत्रमा क्षेत्रमा नगरपालिकाले टोली खटाइएको छ ।
नगर विकास समितिको जग्गामा व्यवसाय गर्दै आएका व्यवसायीहरूले मंगलबार वीरेन्द्रनगर नगरपालिकाको मूल गेटमा संरचना भत्काउने निर्णयको विरुद्धमा नाराबाजी गरेका थिए । ३५ दिने सूचनाको म्याद सकिएपछि व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।







