रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । विशेष अदालतले रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल करिब पाँच लाख रकम हिनामिना गरेको मुद्दामा दोषी ठहर भएका हुन्।

विशेष अदालतका न्यायधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले उनीविरुद्धको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनलाई ९ महिना कैद सजाय सुनाएको अदालतका प्रवक्ता  धनबहादुर कार्कीले बताए । 

कटवाललाई ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिमाना भएको प्रवक्ता कार्कीले बताए। कार्कीका अनुसार कटवालले हिनामिना गरेको, हानि नोक्सानी वा दुरुपयोग गरेको तथा मासेको सरकारी सम्पत्ति पनि असुलउपर हुने फैसला भएको छ। 

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्त गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। 

उजुरीमाथि अनुसन्धानका क्रममा उनले आफ्नो पदीय दुरुपयोग गरी फर्जी कागजात बनाएर आफैँले सदर गरी आफैँले भुक्तानी लिने गर्दा ४ लाख ९८ हजार ९९५ रुपैयाँ सरकारी रकम हानि नोक्सानी गरेको भन्दै अख्तियारले गत वर्ष भदौमा उनीविरुद्ध मुद्दा हालेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस