परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभ्रोभबीच टेलिफोन संवाद  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभ्रोभबीच टेलिफोन संवाद 


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउन र पीडितका परिवारलाई क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई अनुरोध गरेका छन्।

बिहीबार भएको टेलिफोन कुराकानीमा नेपाल रुस सम्बन्धका विविध पक्षबाहेक रुसी सेनामा नेपाली नागरिकहरू रहेका विषयमा पनि छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त विज्ञप्तिमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीलाई मृतकको शव फिर्ता गर्न र परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको सहजीकरण गरिदिन अनुरोध गरेको जनाइएको छ।

रुसले पनि टेलिफोन कुराकानी भएको पुष्टि गरेको छ तर उसले दुई जनाबीच समसामयिक विषयवस्तु र सम्भावित सहकार्यको सम्भावनाबारे छलफलको आदानप्रदान भएको मात्र जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले क्षतिपूर्ति दिने प्रक्रिया थालेकोमा रुसलाई धन्यवाद दिँदै त्यो चाँडो सम्पन्न गर्न अनुरोध गरेका थिए।

रुसी मन्त्रीले नेपाली पक्षको सरोकार सम्बोधन गर्न आफ्नो मन्त्रालयको सहयोग हुने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस