मिटरब्याज पीडितको आन्दोलनमा डा. बाबुराम भट्टराईको ऐक्यबद्धता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिटरब्याज पीडितको आन्दोलनमा डा. बाबुराम भट्टराईको ऐक्यबद्धता


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपासमा सहभागी भएका छन् ।

भृकुटीमण्डपदेखि भद्रकालीसम्म पीडितले निकालेको मार्चपासमा सहभागी भएर उनले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

‘जनताको यो संघर्ष तपाईँहरूका विरुद्ध होइन, सत्तामा बस्ने अवसर पनि तपाईँहरूले यिनै जनताको भोट, रगत र पसिनाबाट पाउनुभएको छ’, डा. भट्टराईले प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई सम्बोधन गर्दै भने, ‘किसान मजदुरको लागि केही गर्न चाहनुहुन्छ भने यो तपाईँहरूका लागि अवसर पनि हो ।’

उनले गृहमन्त्री रवि लामिछानेलाई ‘आजै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर वार्ता थाल्न’ आग्रह गरेका छन् ।

‘मेरा मित्र रवि लामिछाने हिजो मात्रै गृहमन्त्री, उपप्रधानमन्त्री बन्नुभएको छ, रविजी तपाईँ आज त्यसलाई सार्वजनिक गरिदिनुस्’, उनले भने, ‘बल्ल नयाँ पार्टीको परीक्षणबाट तपाईँहरू उत्तीर्ण हुनुहुनेछ, नत्र जुन जोगी आएपनि कानै चिरेको हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस