साउनयता विद्युत् वितरणतर्फ नौ सबस्टेसन सञ्चालनमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साउनयता विद्युत् वितरणतर्फ नौ सबस्टेसन सञ्चालनमा


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएकोका सबस्टेसनबाट निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र चुहावट पनि घटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताए ।

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३-११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि क्षतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत देशभर २५ नयाँ सबस्टेसन निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु, ललितपुरको उनिचौरमा वितरणतर्फको ३३र११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरुसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइनहरू पनि निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले छ ।

Tags :
प्रतिक्रिया दिनुहोस