खेलकुद संयोजकलाई लिएर देवदहमा तालाबन्दी, वडाध्यक्षहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खेलकुद संयोजकलाई लिएर देवदहमा तालाबन्दी, वडाध्यक्षहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नगर खेलकुद विकास समितिको संयोजकको विषयलाई लिएर रुपन्देहीको देवदह नगरपालिकामा विवाद भएको छ । विवादले उग्र रूप लिँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि हातपात हुनुका साथै कार्यकक्षमा तोडफोड समेत भएको छ ।

सोमबार बिहान करिब पौने १२ बजेको समयमा वडा नं. ४, ९ र १० का वडाध्यक्षहरूको नेतृत्वमा आएको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको नगरप्रमुख ध्रुव प्रसाद खरेलले जानकारी दिए । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमा गएर अभद्र व्यवहार गर्ने, कुर्सी फोड्ने, टेबलहरू फोड्ने कार्य भएको छ ।

असन्तुष्टपक्षले हातपातपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ । ‘नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लागेको छ । यसप्रति खेद प्रकट गर्दछु’, नगरप्रमुख खरेलले भने, ‘जनप्रतिनिधिले गरेको व्यवहार र ज्यादतीप्रति दुःख लागेको छ ।’

तर, वडा नं. ९ का वडाध्यक्ष मोहन बहादुर बिसीले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको बताए । ‘कार्यकक्षमा तालाबन्दी गरेका छौँ, तर कुनै अभद्र व्यवहार र हातपात गरेका छैनौँ’, उनले भने, ‘तालाबन्दी गर्ने क्रममा सामान्य धकेलाधकेल भएको हो । त्यही क्रममा टेबलमाथि मान्छे परेर टेबल फुटेको हो ।’ वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्य गरी २२ जनाको समूहले ताला बन्दी गरेको उनले बताए ।

विवादको विषय
गत पुस १८ गते बसेको कार्यपालिकाको बैठकमा देवदह-७ निवासी कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकिएको थियो । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था भए अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिए । तर, उक्त विषयलाई लिएर असन्तुष्ट वडाध्यक्षहरूले बैठक बहिस्कार गरेको वडा नं। ९ का वडाध्यक्ष बिसीले बताए ।

संयोजक तोक्ने विषयमा विवाद भएपछि समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृतलाई भने पनि उनले समन्वय नगरेको असन्तुष्ट पक्षको आरोप छ । बिसीले भने, ‘प्रमुख प्रशासकीय अधिकृतले द्वन्द्व सिर्जना गर्ने काम गर्नु भएको छ ।’ 

तर यता नगर प्रमुख खरेलले एक पटक भएको निर्णय फिर्ता नहुने प्रतिक्रिया दिए । ‘कार्यविधिमा खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोकेको व्यक्ति हुनेछ भन्ने छ । एक पटक भएको निर्णय फिर्ता लिने अवस्था छैन’, उनले भने, ‘आफूले भनेको मान्छे भए हुन्छ नत्र हुँदैन भनेर उहाँहरूले असहमति जनाउनु भएको हो ।’ 

विवादपछि दुवै पक्ष एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । असन्तुष्ट पक्षले नगरप्रमुखले कुलको मन्दिरमा मेयर कोषबाट रकम हालेको आरोप लगाएको छ । साथै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा तोक आदेशमा रकम हिनामिना गरेको पनि आरोप लागेको छ । बहुमत छ भन्दैमा आर्थिक अनियमितता गर्न नपाइएन वडाध्यक्ष बिसीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले पाँच वटा ट्याक्टर र जेसिभीलाई कारबाही गर्न भनेकोमा जरिवाना नगराई छाडिएको छ । प्रमुख जिल्ला अधिकारीले नै समातेको गाडी नगरप्रमुखले छोडेको उनको आरोप छ । 

यसै गरी नगरप्रमुख खरेलले बिसीले घर जग्गाको चौकिल्ला सिफारिससमेत रोकेको आरोप लगाए । विवादले राजनीतिक रूप लिएको छ । अहिले कार्यपालिकाको बैठक बसिरहेको छ भने असन्तुष्ट पक्षका जनप्रतिनिधिहरू पनि छलफलमा जुटेका छन् । नेपाली काँग्रेसले छ वटा र राप्रपाले एउटा वडाध्यक्ष जितेको देवदह नगरपालिकामा नेकपा एमालेको बहुमत छ । 

नगरपालिका र कर्मचारीहरूको आपत्ति
देवदह नगरपालिकाले सोमबार भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विज्ञप्ति निकालेर वडा नं. ९ का वडाध्यक्ष मोहन जि.सी. र १० नं. वडाका वडाध्यक्ष एक बहादुर सुनारको नेतृत्वमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षहरू, नगर सभा सदस्यहरू लगायतको समूहले प्रेस विज्ञप्ति जारी गर्ने नाममा पदीय मर्यादा विपरीत नियोजित रूपमा प्रवेश गरी आपराधिक घटना घटाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित जनप्रतिनिधिले अनुशासित र मर्यादित रूपमा असहमतिका विषयहरू राख्नुपर्नेमा अराजक शैलीमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाज्यूलाई फौजदारी अपराध संहिताले वर्जित गरेका कार्यहरू गर्ने, पटक–पटक फोनमा धम्काउने, अपमान गर्ने, प्रमुख प्रशासकीय अधिकृतको कक्षमा अराजक शैलीमा प्रवेश गरी सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, हातपात गर्ने, हुल हुज्जत गर्ने लगायतका आपराधिक उपद्र कार्यप्रति देवदह नगरपालिका परिवार घोर भर्त्सना गर्दछौ ।’

This image has an empty alt attribute; its file name is image-213.png

यसै गरी घटनाप्रति देवदह नगरपालिकाका कर्मचारीहरूले पनि आपत्ति जनाएका छन् ।  परिवारको गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारीहरूले संयुक्त विज्ञप्ति निकालेर राजनैतिक द्वन्द्व र समस्याको समाधान स्वयं निर्वाचित जनप्रतिनिधिबाट हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव राष्ट्रसेवक कर्मचारीहरू र सेवाग्राहीहरूमा पर्न गएको जनाएका छन् ।

‘राष्ट्रसेवक कर्मचारीप्रति जोसुकैबाट गरिने दुर्व्यवहारले नागरिकको सेवामा अहोरात्र खटिने कर्मचारीको मनोबल खस्किने हुँदा हामी त्यस्ता क्रियाकलापप्रति भर्त्सना एवं खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधिज्यूहरुद्धारा अविलम्ब उक्त समस्याको समाधान गरी कार्यालयमा सुरक्षित तथा भयरहित वातावरणमा कर्मचारीले काम गर्ने अवस्था सृजना गरी दिनु हुन हामी कर्मचारी परिवार हार्दिक अपिल गर्दछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस