वडाअनुसार सडक र पेट्रोल पम्पको मापदण्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वडाअनुसार सडक र पेट्रोल पम्पको मापदण्ड


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । पोखरा महानगरपालिकाले पहिलो पटक वडा अनुसार सडकको मापदण्ड तयार गरेको छ । महानगरपालिकाको सोमबार प्रकाशित राजपत्रमा भवन तथा पूर्वाधार मापदण्ड-२०८० को परिच्छेद ४ मा वडागत सडक मापदण्डको व्यवस्था गरेको छ ।

उक्त मापदण्डअनुसार महानगरका ३३ वटै वडाका सडक स्थानीय मार्ग, शाखा मार्ग, पहुँच मार्ग, कच्ची, पक्की, ग्राभेल, पिच आदिबाट विभाजनसमेत गरेको छ ।

वडाअनुसारको नयाँ सडक मापदण्डले व्यक्तिहरूको नाम तोकेरै सडक वर्गीकरण गरिएकाले स्थानीयले सहज रूपमा बुझ्न सक्ने महानगरको दाबी छ ।

उक्त मापदण्डअनुसार बजार क्षेत्र, ग्रामीण क्षेत्रमा बनेका सडकस्तर र वडाअनुसार सडकको केन्द्र रेखाबाट २.५ देखि ६१ फिटसम्म मापदण्ड लाग्नेछ ।

महानगरले पहिलो पटक नै विमानस्थल र पेट्रोल पम्पको पनि मापदण्ड बनाएको छ । मापदण्डको परिच्छेद ६ मा पेट्रोलपम्प निर्माण तथा विमानस्थलसम्बन्धी आवश्यक मापदण्डबारे उल्लेख गरेको छ ।

जसमा ३० मिटरभन्दा कम चौडाइ भएका साना सडकबाट ५० मिटर र त्योभन्दा बढी चौडाइ भएका ठूला सडकबाट सय मिटरको दूरीमा पेट्रोल पम्प बनाउनु पर्नेछ । पेट्रोल पम्प राख्न सडकको न्यूनतम २० मिटर चौडाइ हुनुपर्नेछ भने पम्पको अधिकतम उचाइ र अगाडिको सेटब्याक ६ मिटर हुनुपर्नेछ । त्यस्तै, विमानस्थलहरू भने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियममा आधारित हुने महानगरले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस