एमाले कैलाली अधिवेशनमा जोशीद्वारा प्यानलसहित उम्मेदवारी घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कैलाली अधिवेशनमा जोशीद्वारा प्यानलसहित उम्मेदवारी घोषणा


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । घोडाघोडी नगरपालिकाको सुखडमा जारी नवौँ जिल्ला अधिवेशनमा प्यानलसहित अध्यक्षमा जोशीले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको प्यानलबाट उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा र उपसचिवमा नृपबहादुर थ्यायत खड्का र रत्ना कुँवरले उम्मेदवारी दिने घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

सुखडमा जारी अधिवेशनमा सहमतिको प्रयास गर्ने नेताहरू प्रयासमा रहेका बेला जोशीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने भएका हुन् । सहमतिकै लागि नेताहरूबीच छलफल भइरहेको भन्दै सोमबार साँझ स्थगित गरिएको बन्दसत्र मंगलबार बिहान ८ बजे सुरु गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

एमाले कैलालीको अध्यक्षका लागि जोशीसहित अहिलेका सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले दाबी गरेका छन् । जिल्ला स्तरीय एक नेताका अनुसार जोशीलाई एमाले सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, पाण्डेलाई स्थायी कमिटि सदस्य कर्ण थापा र ढुंगानालाई केन्द्रीय सदस्य दामोदर भण्डारीले अघि सारेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस