लुम्बिनीका पाँच सांसदद्वारा महिला उद्यमी सम्मेलन बहिष्कार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनीका पाँच सांसदद्वारा महिला उद्यमी सम्मेलन बहिष्कार


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सरकारी मर्यादाक्रम नमिलेको भन्दै राष्ट्रिय महिला उद्यमी सम्मेलन-२०८० को उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका पाँच महिला सांसदहरूले बहिष्कार गरेका छन् । भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा सुरु सम्मेलनको उद्घाटन कार्यक्रममा सरकारी मर्यादाक्रम मिचिएको उनीहरूको आरोप छ ।

महिला उद्यमीहरूको कार्यक्रममा महिला सांसदहरूको पद तथा गरिमालाई नै अनादर र अपमान भएपछि आफूहरूले कार्यक्रम बहिष्कार गरेको सांसद हेमा बेल्वासेले बताइन् ।

आसन ग्रहण गराउँदा आफलहरूमाथि अन्याय भएको उनीहरूको भनाई छ । सरकारी मर्यादाक्रमअनुसार आफूहरू १५ औँ स्थानमा रहेका बेला एउटा व्यावसायिक संस्थाको अध्यक्षभन्दा पछाडि आसन ग्रहण गराएपछि बहिष्कार गरेर हिँडेको अर्की सांसद भगवती अधिकारीले बताइन् ।

सांसदहरु जानकी न्यौपाने, शान्ति लोध र मीना श्रेष्ठले पनि कार्यक्रम बहिष्कार गरेका छन् । आफूहरूमाथि अपमान भएको कुरा अध्यक्ष र गृहमन्त्रीलाई जानकारी गराएर हलबाट बाहिरिएको उनीहरूको भनाइ छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण उनी आउन ढिला भएपछि कार्यक्रमको उद्घाटन सत्र अगाडि बढाइएको थियो । आयोजकले प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेलाई विशिष्ट अतिथि नबनाई अतिथिमात्र बनाएको भन्दै सांसदहरू रिसाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस