विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव 


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन्। मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे । 

वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा  इन्जिनियरिङ शिक्षाको महत्त्व र उपादेयता अझै बढी रहेको बताए । शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उनको भनाइ थियो । 

उपराष्ट्रपति यादवले विकासोन्मुख मुलुकले भोग्दै आएका गरिबी, अशिक्षा, पूर्वाधार विकास र वातावरणीय दिगोपनजस्ता समस्याबाट नेपाल पनि टाढा नरहेको बताए । “यी समस्याको निराकरण र निवारण गर्न इन्जिनियरको भूमिका अहम् छ । तपाईँहरू यथास्थितिलाई चिर्दै सबैखाले चुनौती र समस्याको समाधान गर्न अग्रपङ्क्तिमा हुनुपर्दछ”, उनले भने ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र वन्धुत्वभावका साथ समाज तथा देशको सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भनी उपराष्ट्रपति यादवले कामना गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस