प्रधानमन्त्री कार्यालयको दरबन्दी टुङ्गियो, यस्तो छ सङ्गठन संरचना  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कार्यालयको दरबन्दी टुङ्गियो, यस्तो छ सङ्गठन संरचना 


२९ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दरबन्दी मिलान टुंगिएको छ । पुष १२ गते नै तीन सचिवसहित ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय भए पनि कुन बाँकी पदहरू कुन राख्ने र कुन कटाउने भन्ने विषयमा निक्र्यौलमा पुग्न नसक्दा अनुसूची मिलाउन बाँकी रहेको थियो । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो मिलानसहित अन्तिम सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ । 

कार्यालयमा यसअघि दुई सय ३४ जना कर्मचारीको दरबन्दी रहेकोमा घटाएर एक सय ७२ कायम गरिएको छ । विभिन्न तहका छ जना कर्मचारीको दरबन्दी थप हुँदा ६८ दरबन्दी कटौती गरिएको छ । 

प्रशासन र एक प्राविधिक सेवाका सचिवको दरबन्दी कटौती भएको छ भने प्राविधिक सहसचिवको नयाँ दरबन्दी सिर्जना गरिएको छ । यसअघि प्रशासनमा चार जना सचिवको दरबन्दी रहेकोमा कटौती गरेर दुई दरबन्दी मात्र कायम गरिएको हो ।

यसैगरी इन्जिनियरिङ सेवातर्फको सचिवको दरबन्दी कटौती गरिएको छ । प्रशासन सेवातर्फ नौ सहसचिवको दरबन्दी रहेकोमा कटौती गरेर सातमा झारिएको छ । विविध सेवा अन्तर्गत सहसचिव (सूचना प्रविधि) तर्फ एक दरबन्दी सिर्जना गरिएको छ ।  

यसअघि प्रशासन सेवातर्फ २३ उपसचिवको दरबन्दी रहेकोमा तीन वटा दरबन्दी कटौती गरेर २० मा झारिएको छ । इन्जिनियरिङ सेवातर्फ एक सी.डि.ई.को दरबन्दी सिर्जना भएको छ ।  

यसअघि प्रशासन सेवातर्फ ४१ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा ११ दरबन्दी कटौती गरेर ३० मा झारिएको छ । विविध सेवा अन्तर्गत अर्थशास्त्री रा.प.तृतीय तर्फ एक दरबन्दी सिर्जना भएको छ भने प्रशासन सेवा अन्तर्गत लेखा अधिकृत रा.प.तृतीय तर्फ यसअघि दुई दरबन्दी रहेकोमा एक दरबन्दी कटौती गरी एक कायम गरिएको  ।

यसअघि विविध सेवा अन्तर्गत कम्प्युटर अधिकृत रा.प. तृतीय तर्फ तीन दरबन्दी रहेकोमा दुई दरबन्दी कटौती गरेर एक कायम गरिएको छ । विविध सेवा अन्तर्गत कम्प्युटर इन्जिनियर रा.प. तृतीय तर्फ यसअघि एक दरबन्दी रहेकोमा अहिले दुई दरबन्दी थप गरेर तीन पु¥याइएको छ । 

इन्जिनियरिङ सेवा अन्तर्गत इन्जिनियर रा.प. तृतीय तर्फ एक नयाँ दरबन्दी सिर्जना भएको छ । शिक्षा सेवा अन्तर्गत पुस्तकालय अधिकृत रा.प. तृतीय तर्फको दरबन्दी कटौती भएको छ । साबिकको एउटा दरबन्दी पनि कटौती भएको हो ।

प्रशासन सेवा अन्तर्गत नायब सुब्बा रा.प.अनं.प्रथम तर्फ यसअघि २० जनाको दरबन्दी रहेकोमा १५ दरबन्दी कटौती गरेर पाँच कायम गरिएको छ । विविध सेवा अन्तर्गत कम्प्युटर अपरेटर रा.प.अनं.प्रथम (प्रा.) तर्फ यसअघि ३४ जनाको दरबन्दी रहेकोमा १८ दरबन्दी कटौती गरेर १६ कायम गरिएको छ ।

प्रशासन सेवा अन्तर्गत खरिदार रा.प.अनं.द्वितीय तर्फ पाँच वटा दरबन्दी रहेकोमा सबै कटौती गरिएको छ । सिनियर मिस्त्री, इलेक्ट्रिसियन र प्लम्बरको दरबन्दी पनि कटौती भएको छ । यसअघि सात जना कुचीकारको दरबन्दी रहेको घटाएर चारमा झारिएको छ भने डाँक रनर दुई जनाको दरबन्दी रहेकोमा घटाएर एक कायम गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस