टोखा नगरपालिकाद्वारा फुटपाथमा पसल राख्न रोक, अटेर गरे जरिवाना, अवैध संरचना पनि हटाउँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

टोखा नगरपालिकाद्वारा फुटपाथमा पसल राख्न रोक, अटेर गरे जरिवाना, अवैध संरचना पनि हटाउँदै


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र पर्ने सडक पेटी तथा फुटपाथमा पसल तथा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ । मुख्य सडक र गल्लीहरूका पेटी तथा फुटपाथमा अवैध रूपमा पसल तथा व्यवसाय सञ्चालन गर्न, ठेला गाडामा सामान बिक्री वितरण गरी बाटो अवरुद्ध गर्न, सडक पेटीमा निर्माण सामाग्रीहरू राख्न रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले जानकारी दिए ।

उनका अनुसार सडक छेउमा पोस्टर, पम्प्लेट, ब्यानर तथा होर्डिङ बोर्डहरू राख्न, जथाभाबी फोहोरजन्य पदार्थहरू फ्याँक्न तथा नगरपालिकाको अनुमति नलिई सडकहरू खन्ने लगायतका कार्यहरू गर्न रोक लगाइएको छ । यसका लागि नगर प्रहरी परिचालन गरिएको उनले बताए ।

नगरपालिकाको आग्रहलाई बेवास्ता गरेको पाइएमा पाँच सयदेखि १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । अटेर गरी पोस्टर टास्नेलाई १५ सय रुपैयाँ जरिवाना असुल गरेको प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले जानकारी दिए । साथै नगरपालिकाका कर्मचारीहरूले प्रत्येक शुक्रवार बिहान १० बजेदेखि आधा घण्टा विभिन्न टोलमा गएर सरसफाइ गर्ने गरेका छन् । उनीहरूले सरकारी कार्यालय परिसरमा पनि सरसफाइ गर्ने गरेका छन् ।

सार्वजनिक जग्गामा बनाइएका संरचना हटाइँदै
टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाको वडा नं. ११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाएको छ ।

सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नम्बर ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ ।
विष्णुमती कोरिडोरमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले यस वरपर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको हो ।

नगरपालिकाका अनुसार टोखामा एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा रहेको र यसलाई संरक्षणको योजना अनुसार काम थालिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस