एमाले धादिङ अध्यक्ष त्रिपाठीले भने-अधिवेशन स्थगित भएको छैन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले धादिङ अध्यक्ष त्रिपाठीले भने-अधिवेशन स्थगित भएको छैन


२१ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताएका हुन् ।

‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष त्रिपाठीले विज्ञप्तिमा लेखेका छन्, ‘बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको ब्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु । ’बन्दसत्र सन्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले पनि अधिवेशन स्थगित नभएको बताएका छन् ।

यही माघ १९ गते धादिङ जिल्ला अधिवेशन उद्घाटन भएको थियो । तर बन्द सत्र सुरु हुनु अघि नै नेताहरुबीच विवाद भएको थियो । बन्दसत्र सुरु हुनु अगावै अधिवेशन स्थलमा झडप हुँदा एक जना पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बागमती प्रदेश अध्यक्ष ढुंगलले बताएका छन् । नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकाङ्क्षी देखिएका छन् ।

त्रिपाठीको तर्फबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकाङ्क्षी छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनीले सचिवमा आकाङ्क्षा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस