लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : गगन थापा


२० माघ २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन्। समुदायमा काँग्रेस अभियानअन्तर्गत वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखेका हुन्।

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए। ‘राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ’, उनले भने, ‘सबै क्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ।’

माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ-आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

उनले बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक भएको बताए।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस