‘सार्वजनिक खरिद ऐन संशोधन नहुँदा आयोजना समयमा सम्पन्न गर्न गाह्रो भएको छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘सार्वजनिक खरिद ऐन संशोधन नहुँदा आयोजना समयमा सम्पन्न गर्न गाह्रो भएको छ’


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढङ्ग नपुगेको बताएका छन् ।

संवाद यात्राको क्रममा आइतबार मोरङस्थित कटहरी गाउँपालिकामा बोल्ने क्रममा थापाले विकास आयोजनाको समयावधि बढेपछि लागत बढेको बताए । विकास निर्माणका कार्यहरू फास्ट ट्रयाकबाट टुङ्ग्याउनुपर्ने थापाको भनाई थियो ।

नेपालमा चाइनिज, भारतीय, अमेरिकन आएर बनाए पनि समयमा आयोजना सम्पन्न नहुने अवस्था रहेको बनाए । नेपाली काम गरेका विकास आयोजना भने समयमै सम्पन्न हुने गरेको बताए ।

‘कतारमा इन्जिनियर पनि नेपाली, त्यो बाटो खन्ने लेबर पनि नेपाली, क्रेन चलाउने ड्राइभर पनि नेपाली छ,’ महामन्त्री थापाले भने,‘त्यहाँको बाटो दुई महिनामा बन्छ । हाम्रो कहीँ न कहीँ केही मिलेको छैन । कहीँ हाम्रो ढङ्ग मिलेको छैन ।’

आयोजना सम्पन्न नहुँदा सडकमा यात्रा गर्नेले सास्ती पाएको उनले सुनाए । थापाले भने,‘कुनै पनि मान्छेलाई सजाय दिनु छ भने मुग्लिनबाट बस चढाएर बुटवल पठाइदिए हुन्छ ।’ सार्वजनिक खरिद ऐन संशोधन नहुँदा आयोजना समयमा सम्पन्न गर्न गाह्रो भएको उनले सुनाए । ‘कानुन बनाउने ठाउँमा त हामी छौँ नि । हामीले बदल्ने हो । कानुन बदल्ने जिम्मा हामीले लिने हो,’ थापाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस