महिला विश्वकप क्रिकेट भरतपुरमा खेलाउने रेनु दाहालको इच्छा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

महिला विश्वकप क्रिकेट भरतपुरमा खेलाउने रेनु दाहालको इच्छा


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेलाउने इच्छा रहेको बताएकी छन् ।

शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवी स्मृति यू-१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पारिन् । यसका लागि बागमती  प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन् ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ । यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठूलो लगानी गरेकाले खेल विधामा नेपालको ७५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन् । यही गरिमालाई उच्चो पार्न भरतपुरमा दैनिक रूपमा खेल गतिविधिहरू हुने गरेको प्रमुख दाहालको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक वर्षभित्र गौतम बुद्ध क्रिकेट रङ्गशालाका दुई वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुसी व्यक्त गरे ।

अध्यक्ष चन्दले अलपत्र रहेको रंगशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरे । कार्यक्रममा मैयाँदेवि ट्रष्टका महासचिव टङ्कनाथ पौडेल, कार्यक्रम संयोजक बचन कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस