काठमाडौँ । सर्वोच्च आदलतले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन परमादेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा शुक्रबार परमादेश जारी गरेको हो ।
प्राधिकरणले २०७२ सालमा जारी गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरूको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ मा हप्तामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था गरेको छ । सोही निर्देशिकाका आधारमा हिमालयन एयरलाइन्सले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न लाग्दा प्राधिकरणले रोकेपछि त्यसविरुद्ध अदालत गएको थियो ।