मधेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य, प्रधानमन्त्री कपमा इतिहासकै दोस्रो ठूलो योगफल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मधेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य, प्रधानमन्त्री कपमा इतिहासकै दोस्रो ठूलो योगफल


११ माघ २०८०, बिहिबार


काठमाडौँ । अनिल कुमार शाहको शतकको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेशलाई ३३९ रन हानेको थियो ।

मधेशका अनिल साहले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको शानदार शतकीय इनिङ खेले । अनिलले स्पिनर सन्दीप पराजुलीलाई ३१ औँ ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै १०४ बलमा शतक पूरा गरेका थिए ।

अनिल स्पिनर कमल परियारको बलमा स्टेटमा सट खेल्ने धुनमा लङअनमा कृष ऐरबाट क्याच आउट भए ।

मधेशले कप्तान हरि शंकर साहलाई २ रनमा गुमाएको थियो । दोस्रो विकेटका मयन र अनिलले १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

मयन सन्दीपको बलमा केहिअघि बढेर सट खेल्ने धुनमा विकेटकिपर समिर कँडेलबाट २७ रनमा स्टम्पिङ आउट भए । उनले ४४ बलमा २ चौका हाने ।

पवन सरार्फ ३८ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । तेस्रो विकेटका लागि पवन र अनिलले ६९ रनको साझेदारी गरेका थिए ।

अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । अभिषेक तिवारी १९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे । रुपेश सिंहले ३५ बलमा ३ चौकासहित ३२ रन बनाए ।

गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १–१ विकेट लिए । गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस